तरङ्ग खबर
माघ २ शुक्रबार, सिन्धुलीमाढी । सिन्धुली जिल्ला घ्याङ्गलेख गाउँपालिका वडा नम्वर २ का छविलाल स्याङ्तान जस्को घरमा नेपाल एस वि आई बैंक भाडामा वसेको थियो । आज उनी नै बैंक लुटका योजनाकारको आरोपमा पक्राउ परेको छ ।
पुस २९ गते साझ ७ वजेतीर घ्याङ्गलेखमा बैंक लुटियो भन्ने खवर आयो । सामाजिक सञ्जालको कारण खवर एकै छिनमा सनसनीपूर्ण रुपमा फैलियो । बैंकका कर्मचारीहरुलाई बन्धक बनाएर करिव ३ करोड लुटिएको खवरले जिल्ला प्रहरी कार्यालयलाई पनि तनाव दियो । जिल्ला प्रहरी प्रमुख एस पी लाल ध्वज सुवेदी आफै ५० जना जवानको टोली लिई तत्काल घटनास्थल तर्फ लागे ।
यस अघि नै लुटेराहरु निस्किएपछि बैंकमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले गाउँपालिकामै अवस्थित प्रहरी चौकीलाई खवर गरिसकेका थिए । मोवाइलबाट खवर गरेपछि प्रहरी आएर कोठा फोडेर उनीहरुलाई मुक्त गराएको बैंकका सुरक्षाकर्मी बताउनुहुन्छ । प्रहरीका अनुसार उनीहरुलाई दुई फरक कोठामा हातखुट्टा बाधेर मुखमा टेप बाधिएको अवस्थामा उद्धार गरिएको थियो । उनीहरुलाई खुकुरी र पेस्तोल देखाएर धम्क्याइएको थियो (अनुसन्धानले पेस्तोल नक्कली रहेको पुष्टि भएको छ) ।
कर्मचारीको प्रारम्भिक बयानले प्रहरीलाई केहि सुराक मिलेको थियो । लुटेराहरु ६ जनाको समूहमा आएको र उनीहरु युवा उमेरको रहेको जानकारी भयो । जिल्लाबाट गएको प्रहरी इलाका प्रहरी कार्यालय तथा स्थानीयहरुले लुटेराहरुलाई व्यापक खोजि गर्न थाले । घटनास्थलबाट करिव २ किमी पूर्व लिपीखोलामा द्यब्म् ०३९८ नम्वरको टाटा सुमो र त्यसमा चालक मात्र रहेको अवस्थामा प्रहरीले फेला पा¥यो । अपरिचित लागि सोधखोज गर्दा नै लुटेराहरुले प्रयोग गरेको गाडी त्यही रहेको बुझ्न प्रहरीलाई गारो भएन । चालक भागवत सिंह थापालाई तत्काल नियन्त्रणमा लिइयो । उनका अनुसार ६ जनाको समुहले काभ्रेको वनेपाबाट विहेको लागि भनी गाडी रिजर्भमा ल्याएको भनिएको छ । यसको बारेमा अनुसन्धान हुने प्रहरीको भनाई छ । जे होस चालकको पक्राउ पछि लुटेराहरु जान सक्ने सम्भावित स्थानहरु पहिचान गर्न केहि सहज भयो ।
राती जंगलको बाटो खोजतलास गर्ने क्रममा लुटेराहरुले लान नसकी बोरामा लुकाई राखेको पैसा भेट्टाउन थाल्यो । सो राती विभिन्न स्थानबाट बोरा र छरिएको अवस्थामा प्रहरीले नगद रु १ करोड ८० लाख १० हजार ५ सय बरामद ग¥यो । यसमा स्थानीहरुको पनि व्यापक सहभागिता रह्यो । लुटको खवर आउने वित्तिकै स्थानीयहरुले सामाजिक सन्जाल मार्फत गाउँघरमा अन्जान व्यक्ति आए सोधपुछ गर्नु र शंकास्पद लागे पक्रिनु भन्ने खवर फैल्याइयो । सोहि तरिका नै लुटेराहरुको लागि अफापसिद्ध भयो ।
भोलिपल्ट विहान (पुस ३० गते) सोही गाउँपालिकाको वडा नम्वर १ बाट प्रहरीलाई खवर आयो कि लुटेराहरु मध्ये ४ जना स्थानीयले कव्जामा राखेको छ । प्रहरी पुगे पछि सोधपुछ भयो । उनीहरु सवैले घटनामा संलग्न भएको स्विकारे । खासमा उनीहरु घ्याङ्गलेखको भुगोलबाट अनभिज्ञ थिए । रातभर हिड्दा चिसो र थकानले उनीहरु लखतरान भइसकेका थिए । विहान उनीहरु वडा नम्वर १ को सुकाचुरी गाउँमा खाजा किन्न गए । उनीहरुले केहि थान चाउचाउ र रेडवुल पनि किने । तर गाउँलेहरुले अघिल्लो दिन नै खवर पाएका थिए कि घ्याङ्गलेखमा बैंक लुटियो भनी । एककान दुई कान हल्ला फैलियो कि गाउँमा अन्जान मान्छे आएको भनी युवाहरु जम्मा भई सोधपुछ गर्दा नै पत्ता लगाइहाले कि उनीहरुलै लुटेरा हुन भनी ।
विहान प्रहरी आएपछि लुटेराहरुलाई खानतलासी गर्दा रु ५ लाख ९ हजार ६७५ र विभिन्न स्थानमा लुकाईराखेको ४३ लाख ३५ हजार पनि जफत गरे । प्रारम्भिक वयानबाटै घटनाको वारेमा अपत्यारिलो सत्य वाहिर आयो । उनीहरुले स्पष्ट भने कि यो घटनामा सोहि बैंक रहेको घरबेटी र उनका जेठान संलग्न छ । कुनै ढिला नगरी प्रहरीले घरवेटी छविलाल स्याङ्गतानलाई सर्लाहीबाट माघ १ गते पक्राउ गरे त्यसैगरी चतुरमान वज्यूलाई पनि वडा नम्वर १ कै जंगल आसपास लुकी वसेको अवस्थामा फेला पारे । लुटेराहरुले २ थान खुकुरी र एक थान प्लास्टिकको पेस्तोल प्रयोग गरेका थिए ।
प्रहरीका अनुसार वयानमा छविलाल स्याङ्गतान र चतुरमान वज्यूले आफुहरुले योजना वनाएको स्किारेका छन् । घरधनी छविलालले नै सवै कुराको वन्दोवस्त गरेको भनिएको छ ।
लुटको योजना असोजमा नै बनेको भनिएको छ । तर विविध कारणले योजना सफल हुन सकेन । योजना अनुसार नै पुसको २ गते पनि बैंक लुट्न भनी काठ्माण्डौबाट २ मोटरसाइकलमा हिडेको खुलासा भएको छ । हाल पक्राउ परेका मध्य ४ जना सोहि दिन पनि आएको तर परिस्थिती अनुकुल नभए पछि फर्केका थिए । बैंक लुट्ने अन्तिम तयारीका साथ पुस २८ गते कोटेश्वरमा जम्मा भएका थिए । तर उक्त दिन पनि ढिला भएकाले भोली पल्ट फेरी कोटेश्वरमै जम्मा भई बसमा बनेपासम्म आए । पुस २९ गते बनेपाबाट बोलेरो भाडामा लिई घ्याङ्गलेख आएका हुन् ।
आफ्नै घरमा रहेको बैंक लुट्ने योजना किन बनाए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । हल्ला चले अनुसार छविलालको घर बैंकमा राखी बैंकबाट ५० लाख ऋण लिईएको भनिएको छ । सोहि रकम तिर्न नसक्दा बैंक लुट्ने योजना बनाएको हुनसक्ने कारणमा पनि आंशिक सत्यता हुनसक्ने प्रहरी वताउछन् ।
हातहतियार तथा अन्य कुराको जोरजाम छविलालले गरे पनि लुटेराहरु सम्पर्कमा चतुरमानले ल्याएको भनिएको छ । अहिलेसम्म प्रहरीले घरधनी छविलाल स्याङ्तान, जेठान चतुरमान वज्यू, चालक भागवत सिंक थापा, चितवन भरतपुर–२ का २४ वर्षिय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउपालिका–५ निवासी २३ वर्षीय मिलन गिरी, सोहि स्थान निवासी १९ वर्षीय विवेक मगर र घटनामा संलग्न एक नावालकलाई पनि पक्राउ गरेको छ ।
बैंकको सुचना अनुसार उनीहरुले जम्मा ३ करोड ७ लाख लुटेर लगेका छन् । यता प्रहरीले अहिलेसम्म २ करोड ६८ लाख ५५ हजार १७५ बरामद गरेको छ । लुटेरा ६ मध्य अझै दुईजना फरार रहेको छ भने पक्राउ परेकाहरुलाई प्रहरीले २९ गतेबाट लागु हुने गरी अदालतबाट ५ दिन म्याद थप गरी चोरी तथा डाँका सम्वन्धी मुद्धामा अनुसन्धान थालेको छ ।