– अमित हुजेदार
२०८२ फागुन २१ गते भएको निर्वाचन एक ढंगले जेन्जी आन्दोलन र त्यसमा मारिएका निर्दाेष विद्यार्थीहरु तथा अन्य व्यक्तिहरुको बलिदानको परिणाम हो भन्न सकिन्छ । संविधानतः ५÷५ वर्षमा हुने अर्थात् २०८४ मा हुनु पर्ने निर्वाचन देशको त्यो आपतकालिन अवस्थाले गर्दा २०८२ मै गराउनु परेको थियो । देशमा निश्चित अवधि अगावै निर्वाचन हुनुको कारण जेन्जी आन्दोलन त्यसले निम्त्यिाएको क्षति, प्रधानमन्त्रीको राजीनामा तथा संसदको विघन हो । जेन्जी आन्दलोलन हुनुको कारण नेपो वेवी ट्रेन्ड, अति भ्रष्टाचार, विकासमा शुन्यता, युवाहरुको भविष्य माथि खेलवाड, नेताहरु आफु र आफ्ना कुमर्महरु लुकाउन गरेका मनोमानि तथा युवाहरुको आवाज दवाउन सामाजिक सञ्जालमा लगाएइको प्रतिवन्द इत्यादी कुराहरुले वर्षौदेखि दविएर बसेका युवाहरुको आक्रोसमा झन ज्वाला थप्ने कार्य गरेको थियो । जसको फलस्वरुप सिंगो नेपालका युवा, विद्यार्थीहरु सडकमा उत्रिएर आफ्ना भविष्यका लागि आवाज उठाउनु परेका थियो । त्यही आवाज आन्दोलमा परिणत भई राज्यको प्रशासन, संसद भवन, अदालत लगायत थुप्रै नेता तथा पार्टी कार्यलयहरुमा आगजनी, तोडफोड भई सिंगो देश नै आगोमा जल्नु परेको थियो ।
भदौ २३ र २४ को अकल्पनीय घटना पछिको शुन्यता समाधान गर्न नयाँ सरकारको गठन भयो जस्को उद्देश्य ६ महिना भित्र अर्थात फागुन २१ को निर्वाचन गर्नु थियो । देशमा परिवर्तन चाहनेहरुको लागि उक्त निर्वाचन एकदम सुनौलो अवसर सावित भएको छ । निर्वाचनमा नेपाली राजनितीमा बर्षाैदेखि राज गरिरहेका पुराना अनुभवी नेताहरुको पुराना दल तथा युवाहरुको नेतृत्व गर्ने भनिएका नयाँ दलवीचको महाभिडन्त भएको देख्न पायौँ । बर्षाैदेखि उही पार्टी र उही नेताहरुलाई भोट दिदाँदिदाँ वाक्क भएका नेपाली जनताले यसपाली साँच्चै नै मत परिवर्तन गर्ने सोच बनाएको कुरा उक्त निर्वाचनको नतिजाबाट थाहा पाउँन सकिन्छ । यसपाली जनताले परम्परागतरुपमा चल्दै आएको पैसा र मासुभात संस्कृतीलाई निरुत्साही गरी मताधिकारको प्रयोग गरेका छ जस्तो लाग्यो । यसपालि उनीहरुले हावा भाषण, ढाट्ने प्रवृति भएकाहरुको कुरा नपत्याई आफ्नौ बुद्धि विवेक प्रयोग गरी मत प्रदान गरेको देखिन्छ ।
पुराना तथा अनुभवी नेताहरु र नयाँ अनुहारहरुको महाभिडन्तमा अन्ततः नयाँ भनिएका दलले पुराना भनिएकाहरुको राजपाठ तथा सत्ता नै चौपट हुने गरी विजय हासिल गरेको छ । यो परिणामले नेपाली राजनितीमा तरङ्ग पैदा गरेको छ । नयाँ पार्टी तथा उम्मेदवाररुहले भारी मतान्तरले विजय हासिल गरी एकल बहुमत र लगभग दुई तिहाईकै सरकार बनाउने इतिहास रचेको छ । यसले राज्यको दिशा नै परिवर्तन गर्न सक्ने सम्भावना बोकेको छ ।
यसरी नेपाली राजनितीमा तरङ्ग आउनु र पुराना दलहरुको पत्तासाफ हुने गरी लजास्पद हार हुनु मेरो विचारमा स्वभाविक लाग्छ । बर्षाैदेखि राज्य चलाउने जिम्मा तथा लगाम हातमा सुम्पिदा समेत राज्यको सम्पत्ति आफ्नै खल्तिमा हाल्ने, भ्रष्टाचारमा लिप्त हुने, परिवारवाद र विकासमा पक्षपाती चरित्र देखाउने जस्ता व्यवहार विरुद्ध नै जनताहरुले मताधिकार प्रयोग गरी आक्रोश व्यक्त गरेको देखिन्छ ।
जति नै भ्रष्टाचार गरेपनि, स्वार्थमा डुबेपनि जनतालाई पैसामा किन्न सकिन्छ भन्ने भ्रमबाट जनताले मुक्त गराएका छन् । यो निर्वाचनको परिणामले अहंकार तथा घमण्डी नेताहरुको चरित्रलाई उदाङ्गो पारिदिएको छ । नेपाली जनताको यो परिवर्तनकारी मत देखेर मलाई नेपाली जनता दासबाट साँच्चै जनतामा परिणत भएको महशुस गराएको छ । अरुको खुट्टा तानेर, कुरा काटेर जनतालाई आफ्नो पक्षमा ल्याउनेहरुभन्दा देशमा विकासका सम्भावित क्षेत्रको पहिचान गरी सुधार गर्नुपर्ने कुराहरुको निती बनाउने, योजना तर्जुमा गर्ने र देशमा रोजगारी सिर्जना गर्नसक्नेहरुलाई निर्वाचित गराउनु पर्दछ । यो निर्वाचनले केहि परिवर्तनको ढोका त खोलेको छ ।
यति भन्दै गर्दा नयाँ दल जसले अत्याधिक बहुमत प्राप्त ग¥यो यो नै उत्कृष्ट दल हो भन्ने हैन । तर जनताले पुरानाको कृयाकलाप हेरीसकेका हुनाले नयाँले केहि गर्छ कि भन्ने झिनो आशले आँखा चिम्लेर नयाँ पार्टीका पक्षमा मतदान गरेको हो भन्ने लाग्छ । यतिसम्म कि अधिकांश मतदाताले उमेद्वार को हो भन्ने थाहा नपाई चुनाव चिन्ह बुझेकै आधारमा मतदान गरेका पाइयो । यो एक प्रकारको विश्वास हो । आशा गरौ जनताको आशा निराशामा परिणत हुनेछैन । बर्षाैदेखि धुमलिएको सपनाहरु रंगिन बनोस, साकार बनोस् । अन्यथा निर्वाचन फेरी पनि आउछ तर जनताको विश्वास फेरी फेरी नफर्कन सक्छ ।
(लेखक कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्)