नौलो तरङ्ग खबर
पुस ३० बुधबार, सिन्धुलीमाढी । सिन्धुलीको तीनपाटन गाउँपालिकामा सञ्चालित छैठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।
पुरुष तर्फको फाइनल खेल आज विहान भएसँगै यस वर्षको रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको हो । आज भएको पुरुष भलिबल प्रतियोगितामा बैंकटेश्वर मावि तीनपाटन–८, बाहुनतिल्पुङ्ग प्रथम भएको छ । बाहुनतिल्पुङ्गले भवानी मावि तीनपाटन–२, भिमस्थानलाई २–० को सोझो सेटमा जित हासिल गरेको हो । त्यसैगरी हिजो भएको महिला भलिवल प्रतियोगिता पनि बैंकटेश्वर मावि बाहुनतिल्पुङ्गले नै जित हासिल गर्न सफल भएको थियो । बैंकटेश्वरले चम्पादेवि मावि तीनपाटन–६, घ्याम्पा गड्याम्रेलाई पराजित गरेको थियो ।
समग्र रनिङ्गशिल्ड भने यो वर्ष पनि चम्पादेवि मावि घ्याम्पा गड्याम्रेले नै जित्न सफल भएको छ । चम्पादेविले यस अघिको रनिङ्गशिल्ड लगातार तीन पटक जितेर कव्जा गरिसकेको छ । यस वर्ष पनि लगातार चौथौपटक रनिङ्गशिल्ड जितेर तीनपाटन गाउँपालिकामा चम्पादेवि माविले खेलकुदमा अव्वल रहेको प्रमाणित गरेको छ ।
छैठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको दितीय स्थान श्री मावि तीनपाटन–११, लाम्पानले प्राप्त गरेको छ । त्यसैगरि बैंकटेश्वर मावि बाहुनतिल्पुङ्ग तृतीय हुन सफल भएको छ ।
अनुशासन प्रदर्शनमा भवानी मावि प्रथम, जनप्रीय मावि स्याङ्ती दितीय र हिराथुम्की मावि तोश्रामखोला तृतीय हुन सफल भए । विजेता विध्यालय तथा खेलाडी विद्यार्थीहरुलाई प्रमुख अतिथी तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण मगर तथा विशेष अतिथी रहनु भएका पालिका उपाध्यक्ष धनबहादुर पुलामी मगर लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
प्रमुख अतिथी कर्णबहादुर मगरले विभिन्न विद्यालयका प्रतिनिधी तथा यस वर्षको सह आयोजक भवानी मावि कत्लेशिखर भिमस्थानका अनुभव र सुझाव अनुरुप आगामी वर्ष खेलकुदको लागि थप रकम विनियोजन गरिने जानकारी दिनुभयो ।
तीनपाटन गाउँपालिकाको आयोजना तथा भवानी मावि कत्लेशिखर भिमस्थानको सह आयोजनामा विद्यालयको प्रांगणमा पुस २७ देखि ३० सम्म रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको थियो ।