कक्षा ११ अध्ययनका लागि विषय र विद्यालय कसरी छान्ने ?

यमप्रसाद पाण्डेय                                                   एसईईको नतिजा आएसँगै विद्यार्थी र अभिभावकहरूमा कक्षा ११/१२ को पढाइका लागि उपयुक्त विषय र विद्यालय छनौट गर्ने चुनौती आउँछ । कक्षा १० को परीक्षा उत्तीर्ण गर्नु हरेक विद्यार्थीको जीवनमा एउटा महत्त्वपूर्ण खुड्किलो हो । यो सफलतासँगै अबको शैक्षिक यात्राको दिशा तय गर्ने जिम्मेवारी थपिन्छ ।

हुन त कक्षा ११ र १२ पनि विद्यालय तह नै हुन्, तथापि यसलाई हाम्रो पुरानो परम्परा अनुसार ‘कलेज’ भनिने गरेकाले विद्यार्थीहरूमा ‘ठूलो र राम्रो कलेज’ पढ्ने आकाङ्क्षा जाग्नु स्वाभाविक हो । यही आकाङ्क्षाले नयाँ विद्यालयमा जाने रहर पलाउन सक्छ । कक्षा १० सम्म एउटै तरिकाले, प्रायः सबै विषय पढ्दै आइरहेका विद्यार्थीका लागि कक्षा ११ मा पुग्दा विषय छनौट गर्नुपर्दा अन्योल हुन सक्छ । कतिपय विद्यालयमा कक्षा ११ र १२ पढ्ने सुविधा नहुन सक्छ भने कतिपयमा आफूले चाहेको विषय उपलब्ध नहुन सक्छ ।

कक्षा ११ र १२ को अध्ययनले तपाईंको उच्च शिक्षाको बाटो र समग्रमा भविष्यको क्यारियरको जग बसाउँछ । गलत विषय वा विद्यालयको छनौटले विद्यार्थीको रुचि, क्षमता र भविष्यको सम्भावनालाई समेत असर गर्न सक्छ । त्यसैले, यो निर्णय हतारमा नभई सोचविचार गरेर, पर्याप्त अनुसन्धान र सल्लाह-परामर्शका आधारमा लिनु बुद्धिमानी हुन्छ । यस लेखमा कक्षा ११ र १२ मा विषय र विद्यालय छनौट गर्दा ध्यान दिनुपर्ने मुख्य बुँदाहरूलाई विस्तृत रूपमा छलफल गर्नेछौं, ताकि विद्यार्थी र अभिभावक दुवैले सही र विवेकपूर्ण निर्णय लिन सकून् ।

विषय छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू :                      कक्षा ११ मा विषय छनौट गर्नु विद्यार्थीको रुचिको विषय मात्र नभएर भविष्यको क्यारियरसँग पनि जोडिएको हुन्छ । यसमा मुख्य रूपमा निम्न पक्षहरूमा विचार पुर्‍याउनुपर्छ:

विद्यार्थीको रुचि र क्षमताको पहिचान:                              कक्षा ११ मा विषय छनोट गर्दा विद्यार्थीको रुचि र उत्साह सबैभन्दा महत्त्वपूर्ण हुन्छ, किनकि नेपालमा साधारण धार र प्राविधिक धार गरी दुई मुख्य शैक्षिक समूहहरू उपलब्ध छन् । साधारण धारअन्तर्गत, विज्ञान समूह विज्ञान (भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, गणित) मा गहिरो रुचि राख्ने र इन्जिनियरिङ, चिकित्सा वा वैज्ञानिक अनुसन्धानमा लाग्न चाहने विद्यार्थीका लागि उपयुक्त छ, जसमा कडा मेहनत र लगनशीलता आवश्यक पर्छ । व्यवस्थापन समूह व्यापार, अर्थशास्त्र, लेखा, र बैंकिङमा चासो भएका र भविष्यमा उद्यमी, व्यवस्थापक वा लेखापाल बन्न चाहनेहरूका लागि उपयुक्त छ, जसका लागि विश्लेषण क्षमता र व्यावहारिक ज्ञान चाहिन्छ । मानविकी समूह भाषा, साहित्य, इतिहास, समाजशास्त्र, र पत्रकारितामा रुचि राख्ने तथा रचनात्मक र विश्लेषणात्मक क्षमता विकास गर्न चाहने विद्यार्थीहरूका लागि हो। अन्तमा, शिक्षा समूह शिक्षण पेशामा रुचि राख्ने र भविष्यमा शिक्षक वा शैक्षिक परामर्शदाता बन्न चाहनेहरूका लागि उपयुक्त छ। यसैगरी, प्राविधिक धारले विद्यार्थीहरूलाई कृषि (बाली विज्ञान, पशु विज्ञान), इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर), स्वास्थ्य (ल्याब टेक्निसियन, डेन्टल हाइजेनिस्ट), र पर्यटन तथा होटल व्यवस्थापन (कुकिङ, बेकिङ) जस्ता विशिष्ट प्राविधिक ज्ञान र सीप प्रदान गर्दछ, जसले उनीहरूलाई तत्काल रोजगारीका अवसरहरू प्राप्त गर्न मद्दत गर्छ, र यसमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक तथा प्रयोगात्मक सीपमा बढी जोड दिइन्छ । विद्यार्थीले आफ्नो व्यक्तिगत रुचि, भविष्यको लक्ष्य, क्षमता र कौशल लाई मध्यनजर गर्दै सही समूह छनोट गर्नु महत्त्वपूर्ण हुन्छ ।      विद्यार्थीको विगतको शैक्षिक प्रदर्शन र बुझ्ने क्षमतालाई मूल्यांकन गर्नु महत्त्वपूर्ण हुन्छ । सामान्यतया, तपाईंले एसईईमा जुन विषयमा राम्रो अंक प्राप्त गर्नुभएको छ, त्यो विषयमा तपाईंको बुझाइ राम्रो हुन सक्छ । तर, एसईईको नतिजा मात्रै अन्तिम मापदण्ड होइन भन्ने कुरा बुझ्नुपर्छ। परीक्षाको वातावरण, परीक्षामा समयमा तपाईंको मानसिक तथा शारीरिक स्वास्थ्यको अवस्था, पारिवारिक समस्या, वा परीक्षाको अघिल्लो दिनको तयारीमा आएको कुनै आकस्मिक बाधाले तपाईंले एसईईमा प्राप्त गर्नु भएको GPA लाई फरक पारेको हुन सक्छ । त्यसैले, कम GPA आएको विषयमा तपाईंको वास्तविक क्षमता कम छ भन्ने सोच्नु गलत हुन सक्छ । यसको सट्टा, विषयको गहिराइ, यसमा तपाईंको साँचो रुचि र यसमा भविष्यमा अझ राम्रो गर्न सक्ने सम्भावनालाई विचार गर्नुहोस् । यदि गणितमा कमजोर हुनुहुन्छ र विज्ञान पढ्न खोज्दै हुनुहुन्छ भने त्यसले तपाईंलाई समस्यामा पार्न सक्छ । आफ्नो बलियो पक्ष र कमजोर पक्षबारे इमानदारीपूर्वक विश्लेषण गर्नुहोस् ।

भविष्यको लक्ष्य र क्यारियर सम्भावना:                            कक्षा ११ मा विषय छनोट गर्दा भविष्यको योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। तपाईंले भविष्यमा कुन क्षेत्रमा काम गर्ने वा कुन उच्च शिक्षा हासिल गर्ने भन्नेबारे अहिले नै सामान्य खाका बनाउन सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईं डाक्टर, इन्जिनियर, वैज्ञानिक वा आईटी विज्ञ बन्न चाहनुहुन्छ भने विज्ञान विषय पढ्नुपर्छ । यदि तपाईं चार्टर्ड अकाउन्टेन्ट (CA), बैंकर, प्रबन्धक, उद्यमी वा मार्केटिङ विशेषज्ञ बन्न चाहनुहुन्छ भने व्यवस्थापन विषय उपयुक्त हुन्छ । हाल नेपालमा गणित, विज्ञान, अंग्रेजी जस्ता विषयमा जनशक्तिको अभाव रहेको छ, दशौ पटक विज्ञापन गर्दा पनि शिक्षक पाउन सकिएको छैन त्यसैले शिक्षण पेशामा राम्रो सम्भावना रहेको छ र यसका लागि शिक्षा समुहका विषयहरु छनोट गर्न सकिन्छ । विषय छनोट गर्दा अर्को ध्यान दिनुपर्ने पक्ष भनेको त्यो विषय पढ्दा त्यसले उच्च शिक्षाका अवसरलाई कति फराकिलो बनाउँछ भन्ने हो । आफूले छनोट गर्न लागेको विषयले भविष्यमा कुन-कुन विश्वविद्यालय र कुन-कुन विषयमा उच्च शिक्षाका ढोका खोल्छ, त्यसको जानकारी लिनुहोस् । केही विषयहरूले सीमित विकल्प दिन्छन् भने केहीले धेरै विकल्पहरू उपलब्ध गराउँछन्, त्यसैले आफ्नो रुचि र लक्ष्य अनुसार सही बाटो पहिल्याउनु महत्त्वपूर्ण हुन्छ ।

विषय छनौट गर्दा “आजको निर्णय, भोलिको भविष्य” भन्ने कुरालाई मनमा राखेर मात्र निर्णय लिनु होस् ।  नेपालमा र अन्तर्राष्ट्रिय बजारमा कुन विषयका लागि कस्ता अवसरहरू उपलब्ध छन् भन्नेबारे अनुसन्धान गर्नुहोस् । भविष्यमा कुन क्षेत्रमा रोजगारीको सम्भावना बढी छ र नयाँ प्रविधि तथा परिवर्तनले कुन क्षेत्रमा प्रभाव पार्दैछ भन्ने कुराले पनि विषय छनौटमा सहयोग गर्छ । अहिलेको अवस्थामा विद्यार्थीहरूले भविष्यमा हुन सक्ने बजारको माग र अवसरलाई भन्दा साथीभाइको लहैलहमा लागेर वा क्षणिक रुचिलाई मात्र समातेर विषय छनौट गरेको पाइन्छ । यो उमेर भनेको रमाइलोको पछि लाग्ने समय हो, तर जिन्दगी रमाइलो मात्र छैन। तपाईंको रुचिलाई समात्दा भविष्यको सम्भावनालाई छोड्न मिल्दैन । यदि तपाईंले बजारको माग र आफ्ना रुचिलाई सन्तुलनमा राख्न सक्नुभएन भने पछि गएर पछुताउनुपर्ने अवस्था आउन सक्छ । यसैले, भविष्यमा आउन सक्ने चुनौतीलाई पनि सामना गर्न सक्षम हुनका लागि अहिले नै सुझबुझका साथ विषय छनौट गर्नुपर्छ । सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा साइन्स, वातावरण विज्ञान, दिगो विकास जस्ता क्षेत्रहरू भविष्यमा थप महत्त्वपूर्ण हुनेछन् । यी क्षेत्रहरूको अध्ययनले तपाईंलाई प्रतिस्पर्धी विश्व बजारमा सफल हुन मद्दत गर्नेछ ।

उपलब्ध संकाय र पाठ्यक्रमको जानकारी:               नेपालमा कक्षा ११ र १२ का लागि मुख्यतया चार प्रमुख संकायहरू उपलब्ध छन्: विज्ञान (Science), व्यवस्थापन (Management), मानविकी (Humanities) र शिक्षा (Education)। विज्ञान संकायअन्तर्गत भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान जस्ता उप-विषयहरू पर्छन् । व्यवस्थापन संकायमा लेखा, अर्थशास्त्र, व्यापार अध्ययन, होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञान जस्ता विषयहरू समावेश हुन्छन् । मानविकीमा समाजशास्त्र, मनोविज्ञान, इतिहास, राजनीतिशास्त्र, अंग्रेजी, पत्रकारिता र नेपाली जस्ता विषयहरूको अध्ययन गरिन्छ भने शिक्षा संकायमा नेपाली, अंग्रेजी, गणित,स्वास्थ्य तथा शारिरीक जस्ता विषयहरूमा केन्द्रित हुन्छ । यी साधारण धारका अतिरिक्त, नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) अन्तर्गत विभिन्न प्राविधिक धारका विषयहरू पनि उपलब्ध छन् । यी विषयहरूले विद्यार्थीलाई विशिष्ट सीप प्रदान गरी तत्काल रोजगारीका लागि तयार पार्छन् । केही प्रमुख प्राविधिक धारका विषयहरूमा इन्जिनियरिङतर्फ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर, आर्किटेक्चर), कृषितर्फ (बाली विज्ञान, पशु विज्ञान), स्वास्थ्यतर्फ (सामान्य चिकित्सा, नर्सिङ, प्रयोगशाला प्रविधि), होटल व्यवस्थापन (होटल म्यानेजमेन्ट, पाक कला) र सूचना प्रविधि (कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर डेभलपमेन्ट) आदि पर्छन्। प्रत्येक संकाय वा प्राविधिक धारको पाठ्यक्रम, पढाइको शैली र मूल्याङ्कन प्रणालीबारे बुझ्नु महत्त्वपूर्ण हुन्छ। उदाहरणका लागि, विज्ञान संकायमा प्रयोगात्मक कार्य (Practical work) को ठूलो भूमिका हुन्छ भने प्राविधिक धारमा व्यावहारिक सीप विकासमा विशेष जोड दिइन्छ, जसले विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा दक्ष बनाउँछ ।

विद्यालय शिक्षकको सल्लाह र सुझाव:                          एसईई परीक्षा मुख्यतया तीन घण्टाको अन्तिम परीक्षामा केन्द्रित हुने भएकाले यसले विद्यार्थीको समग्र सिकाइ र क्षमताको पूर्ण मूल्याङ्कन गर्न सक्दैन। परीक्षाको दिन विद्यार्थीको शारीरिक वा मानसिक अवस्था, परीक्षा हलको वातावरण प्रश्नपत्रको कठिनाई वा अप्रत्याशितता जस्ता बाह्य कारकहरूले उनीहरूको प्रदर्शनमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । यी कारणहरूले गर्दा विद्यार्थीले ल्याएको नतिजाले उनीहरूको वास्तविक क्षमतालाई प्रतिनिधित्व नगर्न सक्छ। यसैले, आफूलाई विद्यालयमा पढाएका शिक्षकहरूसँग सल्लाह लिनु उपयुक्त हुन्छ, किनभने उनीहरूलाई विद्यार्थीको क्षमता, रुचि र विभिन्न विषयका सम्भावनाहरूबारे विस्तृत जानकारी हुन्छ। यसरी शिक्षकको परामर्शले विद्यार्थीलाई आफ्नो वास्तविक क्षमताअनुसार सही बाटो छनोट गर्न मद्दत पुग्छ ।

विद्यालय छनौट गर्दा विचार गर्नुपर्ने कुराहरू :                  विषय छनौट गरेपछि, अब उपयुक्त विद्यालयको खोजी सुरु हुन्छ । राम्रो विद्यालयको छनौटले विद्यार्थीको पढाइमा ठूलो प्रभाव पार्छ र उनीहरूको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

शैक्षिक गुणस्तर र नतिजा:                                              कक्षा ११ र १२ को लागि विद्यालय छनोट गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा ध्यान दिनु आवश्यक छ। सर्वप्रथम, विद्यालयको विगतको नतिजा, विशेषगरी कक्षा ११ र १२ को शैक्षिक प्रदर्शन कस्तो छ, सोबारे जानकारी लिनुहोस्। उत्कृष्ट नतिजा दिने विद्यालयले प्रायः राम्रो शैक्षिक वातावरण र प्रभावकारी शिक्षण पद्धति अपनाएको हुन्छ । नतिजा भन्नाले बिद्यालय शिक्षा पछि विध्यार्थीले कस्तो प्रगती गर्दैछ त्यस्को पनि मुल्यांकन गर्नुपर्छ। किनकी कतिपय अबस्थामा परीक्षा केन्द्र प्रभावित गरेर पनि नतिजा उत्कृष्ट देखाइन सक्छ। त्यसैले बजारको मुल्यांकनलाई पनि ध्यान दिनुपर्छ। दोस्रो, विद्यालयमा कार्यरत शिक्षकहरूको योग्यता, अनुभव र उनीहरूको शिक्षण शैलीबारे बुझ्नुहोस्। अनुभवी र योग्य शिक्षकहरूले विद्यार्थीलाई उचित मार्गदर्शनका साथै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तेस्रो, पठनपाठन शैली र प्रविधिमा विविधता छ कि छैन भन्ने कुरामा पनि विचार पुर्याउनुहोस्। के विद्यालयले परम्परागत शिक्षण विधि मात्र अपनाउँछ वा आधुनिक शिक्षण प्रविधिहरू (जस्तै: स्मार्टबोर्ड, इ-लर्निङ, प्रोजेक्ट-आधारित सिकाइ, समूह कार्य र छलफल) को पनि प्रयोग गर्छ? सक्रिय र अन्तरक्रियात्मक शिक्षण विधिले विद्यार्थीलाई धेरै फाइदा पुग्छ, किनकि यसले सिकाइलाई थप प्रभावकारी, रोचक र विद्यार्थी केन्द्रित बनाउँछ। यी सबै पक्षहरूलाई ध्यानमा राखेर मात्र विद्यालय छनोट गर्नु विद्यार्थीको उज्ज्वल भविष्यका लागि लाभदायक हुन्छ ।

भौतिक पूर्वाधार र सुविधा:                                        विद्यालय छनोट गर्दा विद्यार्थीको समग्र सिकाइ अनुभव र सुविधालाई ध्यान दिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । विज्ञान विषय पढ्ने विद्यार्थीहरूका लागि राम्रो सुविधा सम्पन्न प्रयोगशाला अनिवार्य हुन्छ। यसमा गणित,  रसायन विज्ञान, भौतिक विज्ञान र जीव विज्ञानका लागि छुट्टाछुट्टै र आवश्यक उपकरणसहितको प्रयोगशाला छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यस्तै, विद्यार्थीलाई अध्ययनका लागि आवश्यक पुस्तकहरू, सन्दर्भ सामग्रीहरू र अनुसन्धान गर्नका लागि उपयुक्त पुस्तकालयको उपलब्धता पनि हेर्नुहोस् । कम्प्युटर शिक्षा लिने वा कम्प्युटरको आधारभूत ज्ञान सिक्न चाहने विद्यार्थीहरूका लागि पर्याप्त कम्प्युटरसहितको कम्प्युटर ल्याब हुनु आवश्यक छ । यी मुख्य शैक्षिक सुविधाहरूका अतिरिक्त, विद्यालयमा खेलकुद मैदान, क्यान्टिनको गुणस्तर, स्वच्छ पिउने पानी, शौचालयको सरसफाइ, यातायात सुविधा, र प्राथमिक उपचार सुविधा जस्ता अन्य सुविधा पनि विद्यार्थीको सहजता र सुरक्षाका लागि महत्त्वपूर्ण हुन्छन् । यी सबै पक्षहरूले विद्यार्थीको शैक्षिक र व्यक्तिगत विकासमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विद्यालय छनोट गर्दा यिनलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ ।

 शुल्क संरचना र पारदर्शिता:                                      विद्यालय छनौट गर्दा कुल शुल्क (भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, ल्याब शुल्क आदि) र अन्य अप्रत्यक्ष खर्चहरू बारे स्पष्ट जानकारी लिनु अपरिहार्य छ। कुनै पनि लुकेका शुल्कहरू, जस्तै शैक्षिक भ्रमण, ल्याब शुल्क, वा पुस्तकालय शुल्कका नाममा पछि अतिरिक्त शुल्क असुल्ने सम्भावनाबारे सोधपुछ गर्नु बुद्धिमानी हुन्छ। आफ्नो आर्थिक क्षमताअनुसारको विद्यालय छनौट गर्नु महत्त्वपूर्ण छ, किनकि महँगो विद्यालय नै सधैं राम्रो हुन्छ भन्ने छैन; उचित शुल्कमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने धेरै विकल्पहरू उपलब्ध छन् ।

 विद्यालयको वातावरण र अनुशासन:                    विद्यालयको अनुशासन प्रणाली र त्यहाँको शैक्षिक वातावरण विद्यार्थीको समग्र विकासका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। जहाँ विद्यार्थीलाई पढ्न र सिक्नका लागि उपयुक्त तथा शान्त वातावरण हुन्छ, त्यहाँ उनीहरूले आफ्नो अधिकतम क्षमता प्रदर्शन गर्न सक्छन्। यसका लागि, सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थी वा उनीहरूका अभिभावकसँग कुरा गरेर प्रत्यक्ष जानकारी लिनु प्रभावकारी हुन्छ। विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्त्व छ; यसले विद्यार्थीलाई समय व्यवस्थापन, जिम्मेवारीबोध र आत्म-नियन्त्रण सिकाउँछ। अनुशासित वातावरणमा विद्यार्थीहरूले एकाग्रताका साथ अध्ययन गर्न पाउँछन्, जसले उनीहरूको सिकाइ प्रक्रियालाई सुदृढ बनाउँछ र शैक्षिक उपलब्धि बढाउँछ। असल अनुशासनले केवल शैक्षिक सफलता मात्र नभई, भविष्यमा असल नागरिक बन्न र व्यावसायिक जीवनमा सफल हुनका लागि आवश्यक नैतिक र सामाजिक मूल्यमान्यताहरू पनि सिकाउँछ। तसर्थ, विद्यालय छनोट गर्दा यसको अनुशासन र शान्त शैक्षिक वातावरणलाई प्राथमिकता दिनु विद्यार्थीको उज्ज्वल भविष्यका लागि अपरिहार्य हुन्छ ।

अतिरिक्त क्रियाकलाप :                                        विद्यालयमा पढाइका अतिरिक्त अतिरिक्त क्रियाकलापहरू कत्तिको गराइन्छन् भन्ने कुरा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण हुन्छ। यस्ता क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सीप बढाउन मद्दत गर्छन्। अतिरिक्त क्रियाकलाप गराउँदा विद्यार्थीको क्षमता र रुचिअनुसार समावेशी रूपमा खेलकुद र शैक्षिक दुवै प्रकारका गतिविधिहरूलाई समान प्राथमिकताका साथ समावेश गरिनुपर्छ। यसले विद्यार्थीलाई शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ राख्दै, उनीहरूको लुकेका प्रतिभालाई बाहिर ल्याउन र जीवनका लागि आवश्यक व्यावहारिक सीपहरू विकास गर्न सहयोग पुर्‍याउँछ ।

विद्यालयले अतिरिक्त क्रियाकलाप, विशेषगरी खेलकुदलाई, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि भन्दा पनि आफ्नो प्रचारप्रसारको माध्यम मात्र बनाउँदा नकारात्मक असर पर्न सक्छ । जब विद्यालयले विद्यार्थीहरूलाई हरेक प्रतिस्पर्धा जित्नै पर्ने अनावश्यक दबाब दिन्छ, तब यसले उनीहरूमा तनाव, चिन्ता र निराशा बढाउँछ । यस्तो अवस्थामा खेलकुदबाट प्राप्त हुने शारीरिक र मानसिक फाइदाहरू गौण हुन्छन्, र खेलको आनन्द हराएर जान्छ । विद्यार्थीहरूले जित्न नसकेको खण्डमा आफूलाई असफल ठान्न सक्छन्, जसले उनीहरूको आत्मविश्वासमा कमी ल्याउँछ र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । यसरी बाध्यात्मक रूपमा खेलकुदमा सहभागी गराउँदा विद्यार्थीको रुचि घट्दै जान्छ र उनीहरूमा पढाइमा समेत नकारात्मक असर पर्न सक्छ । त्यसैले, अतिरिक्त क्रियाकलापको वास्तविक उद्देश्य विद्यार्थीको चौतर्फी विकास र खुसी हुनुपर्छ, न कि केवल विद्यालयको विज्ञापन वा इज्जतको विषय ।

 घरबाट दुरी र यातायातको सुविधा :                        विद्यालयको दूरी र यातायात सुविधाले विद्यार्थीको दैनिक जीवनमा महत्त्वपूर्ण प्रभाव पार्छ । घरबाट टाढाको विद्यालयले विद्यार्थीको धेरै समय दैनिक यातायातमा खर्च गराउन सक्छ, जसले गर्दा अन्य महत्त्वपूर्ण कार्यहरूका लागि समय कम हुन जान्छ । यदि आफ्नै यातायातको साधन छैन भने, विद्यालयले बस वा अन्य यातायात सुविधा उपलब्ध गराउँछ कि गराउँदैन भन्ने कुरा बुझ्नुपर्छ । सामान्यतया, टाढाको विद्यालयभन्दा नजिकको विद्यालय छनौट गर्नु उपयुक्त हुन्छ, किनकि यसले यातायातमा लाग्ने समय र खर्च दुवै बचाउँछ। यातायातमा खर्च हुने समय र पैसालाई विद्यार्थीले पढाइ, अतिरिक्त क्रियाकलाप वा अन्य सिर्जनात्मक काममा सदुपयोग गर्न सक्छन् । यसका साथै, ट्राफिक जाम वा अन्य अप्रत्याशित दुर्घटनाका कारण विद्यालयमा समयमै पुग्न वा घर फर्किन समस्या हुने सम्भावना पनि टाढाको विद्यालयमा बढी हुन्छ । त्यसैले, विद्यालय छनोट गर्दा यसको दूरी र यातायातको सहजतालाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।

अनावश्यक विज्ञापन र त्यसका असरहरूबाट सचेत रहनुहोस् :                                                          अनावश्यक विज्ञापनमा ठूलो रकम खर्च गर्ने र देखावटीपन बढाउने विद्यालयहरूबाट अभिभावक र विद्यार्थी दुवै सचेत रहनुपर्छ। यस्ता विद्यालयहरूले विज्ञापनमा खर्च भएको पैसा अन्ततः विभिन्न शुल्कका नाममा विद्यार्थीहरूबाटै असुल उपर गर्छन्, जसले गर्दा समग्र अध्ययन खर्च बढ्न जान्छ । यसका साथै, विज्ञापनका लागि विद्यार्थीहरूलाई परिचालन गर्ने विद्यालयहरूले उनीहरूलाई ललाइ फकाइ आफ्नो विद्यालयको पक्षमा बोल्न लगाउँछन् । यस्ता कार्यहरूले शैक्षिक वातावरणलाई दूषित पार्नुका साथै विद्यार्थीमा गलत संस्कारको विकास गर्न सक्छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयले अनावश्यक प्रचारबाजीमा भन्दा पनि शैक्षिक उन्नयन र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेको हुन्छ, त्यसैले विद्यालय छनोट गर्दा विज्ञापनको चकाचौंधमा नभई वास्तविक शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।

आफुले अध्ययन गरेको वा परिचित :                                कक्षा ११ र १२ को अध्ययनका लागि सकेसम्म आफूले कक्षा १० सम्म अध्ययन गरेको विद्यालय नै रोज्नु बुद्धिमानी हुन्छ । यसो गर्दा तपाईंलाई सो विद्यालयको शैक्षिक वातावरण, अनुशासन प्रणाली र पूर्वाधार लगायत सबै कुराहरू राम्ररी थाहा हुन्छ। नयाँ ठाउँमा जाँदा पहिलो वर्ष विद्यालयको वातावरण बुझ्न र नयाँ साथीभाइ बनाउँदा नै धेरै समय बित्न सक्छ, जसले पढाइमा असर पार्न सक्छ। परिचित वातावरणमा तपाईंले आफ्ना चिनाजानेका साथीहरू र शिक्षकहरू सँग सहजरूपमा घुलमिल भई पढाइमा बढी ध्यान केन्द्रित गर्न सक्नुहुन्छ। तथापि, यदि तपाईंले पढ्न चाहेको विषय सो विद्यालयमा उपलब्ध छैन वा त्यहाँको समग्र वातावरण तपाईंको लागि उपयुक्त छैन भने, अन्य विकल्प खोज्नुपर्ने हुन्छ। यस सन्दर्भमा, एउटा महत्त्वपूर्ण कुरा के हो भने कक्षा ११ र १२ विद्यालय नै हो, यसलाई कलेज भनेर गरिने विज्ञापनको भ्रममा पर्नु हुँदैन । धेरैजसो विज्ञापनहरूले विद्यार्थीहरूलाई आकर्षित गर्न यस्ता भ्रम फैलाउने गर्छन्, जसबाट सचेत रहनुपर्छ ।

कक्षा ११ र १२ मा पुग्दा धेरै विद्यार्थीहरू घरबाट टाढा बसेर स्वतन्त्रताको अनुभव गर्न चाहन्छन् । कक्षा १० सम्म अभिभावकको प्रत्यक्ष निगरानीमा रहेका उनीहरूका लागि यो नयाँ स्वतन्त्रता एकैचोटि बोझिलो बन्न सक्छ । यस उमेरमा साथीभाइको लहैलहैमा लागेर कुलतमा फस्ने सम्भावना अधिक हुन्छ, जसले उनीहरूको भविष्यमा गम्भीर असर पार्न सक्छ । घरभन्दा बाहिर बस्दा कोठाभाडा, रासनपानी, यातायात र सञ्चार जस्ता अत्यावश्यक खर्चहरू त हुन्छन् नै, त्यसबाहेक अनावश्यक खर्चहरू पनि बढ्न सक्छन्। यी सबै कुराले विद्यार्थीको पढाइमा मात्र नभई उनीहरूको व्यक्तिगत विकासमा समेत नकारात्मक प्रभाव पार्ने जोखिम रहन्छ। त्यसैले, यस्ता जोखिमबाट बच्नका लागि सकेसम्म कक्षा १० सम्म पढेको वा आफ्नो घर नजिकको परिचित विद्यालय नै रोज्नु बुद्धिमानी हुन्छ । यसले स्वतन्त्रताको चाहनालाई सही दिशा दिन र सम्भावित नकारात्मक परिणामहरूबाट बच्न मद्दत गर्छ, साथै अनावश्यक खर्च र मानसिक तनावबाट समेत जोगाउँछ ।

निष्कर्ष ,                                                                     कक्षा ११ र १२ को लागि विषय र विद्यालय छनौट गर्नु विद्यार्थीको भविष्यको आधारशिला हो, त्यसैले यो निर्णय हतार नगरी लिनुपर्छ । यसका लागि, विद्यार्थीको रुचि, क्षमता र भविष्यको लक्ष्यका साथै अभिभावकको अपेक्षाबारे खुला छलफल गर्नुपर्छ, साथै एसईईमा राम्रो अंक प्राप्त गरेका विषयका शिक्षकहरूसँग पनि सल्लाह लिन सकिन्छ। सम्भावित विद्यालयहरूको सूची बनाएर कम्तीमा २-३ वटा विद्यालयमा प्रत्यक्ष भ्रमण गरी त्यहाँको वातावरण, पूर्वाधार र शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गरेर जानकारी लिनु उपयुक्त हुन्छ। साथै, ती विद्यालयमा पहिले अध्ययन गरिसकेका विद्यार्थी वा हाल अध्ययनरत विद्यार्थीका अभिभावकसँग कुरा गरेर उनीहरूको अनुभव सुन्नु पनि फाइदाजनक हुन्छ । यी सबै बुँदाहरूमाथि राम्ररी विचार गर्दै, अभिभावक र शिक्षकहरूसँग सल्लाह लिई विद्यार्थीको रुचि र क्षमतालाई प्राथमिकता दिनुपर्छ, किनकि सही निर्णयले विद्यार्थीको शैक्षिक यात्रालाई सहज, सफल र फलदायी बनाउनेछ ।                          (लेखक शिद्दज्योती शिक्षा क्याम्पस, फोस्रेटार सिन्धुलीका गणित बिषयका उप-प्राध्यापक हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *