तरङ खवर
सिन्धुलीमाढी असोज ०३ बिहिवार। संविधान दिवसको अबसर पारेर आज जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले सवारी चालकहरुसंगको प्रतिवद्धता कार्यक्रम सुरूवात गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख/प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सवारी चालकहरूलाई ट्राफिक नियम सम्बधी जानकारी गराउने, प्रतिवद्धता गराउने र आफ्नो सुरक्षाबारे जानकारी गराउने जस्ता सचेतनामूलक कार्यक्रम गरिएको थियो । साथै सबारी साधनहरुमा ट्राफिक नियम तथा सबारी सुरक्षा सम्बन्धी चेतनामुलक स्टिकर पनि टास्ने काम भएको थियो।
सार्वजनिक सवारी साधनहरूको हकमा जिल्लास्थित बसपार्कहरुमा रहेका सवारी चालकहरुलाई र मोटरसाइकल चालकहरूको लागि राजमार्गमा सुरक्षित तथा उपर्युक्त स्थानमा चालकहरूलाइ ट्राफिक प्रहरीहरूबाट भेला जम्मा गरी निरन्तर रूपमा जानकारी गराइने बताइएको छ ।
ट्राफिक जरिवाना (चिट काट्ने) नगरी विशुद्ध रूपमा सवारी चालकहरूलाई सुरक्षित यात्रा के कसरी गर्न सकिन्छ, सडक/ ट्राफिक नियम पालना गर्नु पर्छ भनी स्वयं सचेत गराई सवारी दुर्घटना न्यूनीकरण गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको प्रहरी प्रमुख शर्माले बताउनु भयो।
उक्त कार्यक्रमममा जिल्ला समन्वय समिति सन्धुलीका उप-प्रमुख श्री शान्ता कार्की ,सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण मणि फुयाल, सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक बलराम प्रसाई, जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, होटल व्यवसायी सघंका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्राकार, यातायात व्यवसायीहरू लगायतको सहभागिता रहेको थियो ।