श्री प्रभात मा.वि. माथिल्लो रानीवासको विद्यार्थी प्रदर्शनी कार्यक्रम शुरु

तरंग खवर
सिन्धुलीमाढी, माघ २५ विहिवार । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर १३ स्थित श्री प्रभात मावि माथिल्लो रानीवासले विद्यार्थीहरुको उत्सव र प्रदर्शनी कार्यक्रम सन्चालन गरेको छ । माघ २४,२५ र २६ तीन दिन चल्ने कार्यक्रमलाई नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बुधवार रिवन काटी उद्घाटन गर्नु भएको हो ।

विद्यालय प्रांगणमा स्टलहरु निर्माण गरी विद्यार्थीहरुले बनाएका विज्ञानका सामाग्रीहरु र कृषि उत्पादनहरु प्रदर्शनी स्थलमा राखिएको छ । कृषि सम्वन्धी पढाइ हुने विद्यालय भएकाले अधिकांश स्टलहरुमा कृषि उत्पादनका सामाग्री राखिएको छ । स्टलमा राखिएका विभिन्न जातका विरुवाहरु, च्याउ तथा मौरी पालनका नमुनाहरु विद्यार्थीबाटै उत्पादित रहेको विद्यालयका प्रअ अरुण कुमार थिङ्गले जानकारी दिनु भयो ।

प्रदर्शनीको मुख्य आकर्षण रैथाने खाजा घर रहेको छ । खाजा घरमा परम्परागत चुल्हो वनाई मकै भटमास भुटेर अतिथिहरुलाई दिने गरिएको छ । विद्यार्थीहरुले नै खाजा घरमा प्रतक्ष्य रुपमा सेलरोटी बनाउने, गुन्द्रुक तथा मुलाको अचार र मोही पार्ने काम गर्दछन् । विद्यार्थीहरुले आधुनिक कृषि प्रणालीसँगै मौलिक परम्परा पनि नबिर्सिउन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रअ थिङ्गले वताउनु भयो । प्रदर्शनी स्थलमा आउनुहुने आगन्तुकलाई गाउँको परिवेश महशुस गराउन प्रांगणमा लिङ्गे पिङ पनि बनाइएको छ ।

उद्घाटन कार्यक्रममा शुभकामना दिनुहुँदै प्रमुख अतिथी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले विद्यालयको कार्यलाई प्रशंसा गर्दै यस्तै कार्यक्रम अरु विद्यालयमा पनि हुन जरुरी रहेको वताउनु भयो । अवका विद्यार्थीहरु सैदान्तिक भन्दा पनि व्यवहारिक ज्ञानमा पोख्त हुन आवश्यक रहेको उहाँले वताउनु भयो । रैथाने वाली र रैथाने घरेलु उत्पादनको व्यवहारिक शिक्षाले अवको पुस्तालाई आफ्नो परम्परा र सँस्कृतीको जानकारी गराउने मात्रै नभई जोड्न पनि मद्दत पुग्ने उहाँको भनाई थियो । विदेशी धर्म, संस्कृती र परम्पराले नेपालीलाई अप्ठेरो बनाएको अवस्थामा यस्ता कार्यक्रम उपयोगी हुने प्रमुख अतिथी पोखरेलले वताउनु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतीक प्रस्तुती पनि प्रदर्शन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्वर १३ का वडा अध्यक्ष केशर वहादुर कार्कीको सभापतित्वमा सन्चालित कार्यक्रम २६ गतेसम्म चल्ने प्रअ अरुण कुमार थिङ्गले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *