जिवन भन्नु मृत्युको पर्खाइ रहेछ । अल विदा शारदा सर…….

बरुण लामिछाने

त्रिभुवन विश्वविद्यालयबाट गणित विषयबाट स्नातकोत्तरमा विशिष्ट श्रेणी उत्तीर्ण गर्नुभएका शारदामणि खड्का २०५४ साल अघिसम्म काठमाण्डौको अस्कल क्याम्पसमा अध्यापनरत हुनुहुन्थ्यो । एकदिन सन्जोगले गोर्खापत्र हेर्नपुग्दा सिन्धुली वहुमुखी क्याम्पसमा गणित विषयको प्राध्यापक आवश्यक रहेको विज्ञापन छापिएको देख्नु भयो । विश्वविद्यालयको सेवा सुविधासहित न्युनतम योग्यता दितीय श्रेणी मागिएको थियो । स्नातकोत्तरसम्मका सहपाठी निर्मल खनालको सुझाव अनुसार उहाँले दर्खास्त दिनुभयो । १० जनाको प्रतिस्पर्धामा उहाँ निर्विकल्प छानिनुभयो । त्यसयता उहाँ निरन्तर सिन्धुली वहुमुखी क्याम्पसमा अध्यापनरत हुनुहुन्थ्यो ।

शुरुवाती दिनहरुमा उहाँ गैरी वजारमा वस्नुहुन्थ्यो जहाँ हामी वस्ने गथ्र्यौ । थोरै चिनजान र भेटघाट हुने गथ्र्यो । एस.एल.सी. पश्चात म पनि सिन्धुली वहुमुखी क्याम्पसमा पढ्न थालेपछि उहाँसंग केहि निकट हुने मौका मिल्यो । उहाँको स्वभाव अलिक फरक थियो । थोरै वोल्ने र अनावश्यक प्रसंगमा रुचि नराख्ने । पछि लामो समयसम्मको निकटमा पनि  नजिक हुन मलाई पनि गारो लाग्थ्यो । कहिलेकाहि पढाइको वहानामा कोठामा पुग्थ्ये । गणित विषयको टयूसन पढाउन धेरै आग्रह गरेँ तर उहाँ भन्नुहुन्थ्यो ‘के के आउदैन सवै सोध्नु, भनिदिन्छु । किन टयूसन पढ्नु ?’

मृत्यु अघिसम्म निरन्तर सिन्धुलीको भुमिमा २६ वर्ष शैक्षिक क्षेत्रमा योगदान दिनुभयो । सिन्धुली वहुमुखी क्याम्पसको ईतिहासमा पटकपटक गरी चार पटक क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको शारदामणी खड्का प्रशासकीय दृष्टिकोणले सफल मात्र होइन निर्विकल्प नेतृत्वको रुपमा पाएँ । क्याम्पसको हरेक समस्या र विवादलाई सहज ढंगले अवतरण गराउन उहाँको महत्वपूर्ण भुमिका रहन्थ्यो । समस्या लिएर आएका विद्यार्थी जमात वा संगठनलाई छोटो संवादमा सन्तुष्ट वनाई समाधान उन्मुख बनाउने उहाँको मात्र खुवी रहेको पाएँ । सत्यको पक्षमा रहन उहाँ कहिल्यै डगमगाउनु भएन । मलाई याद छ म बहुमुखी क्याम्पसको विद्यार्थी रहँदा एक मुद्धामा आन्दोलनको उठान गरेको थिएँ । उहाँ त्यतीखेर निवर्तमान क्याम्पस प्रमुख हुनुहुन्थ्यो । विद्यार्थीको परिक्षा शुल्क रु पाँच सयले वृद्धि भएको थियो । लामो समयको संघर्ष पश्चात व्यवस्थापन समितीले शुल्क घटाउन सहमत भयो । तर परिक्षाको वेला फेरी वढेको शुल्क नै लियो । फेरी घटाउन छलफलमा वस्नु पर्ने भयो । पूर्व क्याम्पस प्रमुख सहितको टोली छलफलमा वसियो । मैले भने सहमती भईसकेको कुरा फेरी किन लागु नगरेको ? वर्तमान क्याम्पस प्रमुख विश्वराज शर्मा सरले भन्नु भयो ‘व्यवस्थापन समितीले वढेकै शुल्क लिनु भनेको छ । म के गर्नु ?’ त्यती खेर खड्का सरले आक्रोशित हुँदै भन्नुभयो ‘सहमती भइसकेको भए किन लिनु, तुरुन्त घटाउनु ।’ त्यस पछि घटाएर शुल्क लिइयो । प्राध्यापक मात्रै रहँदा होस या क्याम्पस प्रमुखको हैसियतमा रहदा होस उहाँ कहिल्यै शक्तिको पुजारी हुनु भएन । सधै विद्यार्थीको समस्यामा उत्तरदायी रहेको महशुस भयो । उहाँ कहिल्यै क्याम्पस प्रमुखको होडमा इच्छुक हुनु भएन तर सधै विद्यार्थी र व्यवस्थापनको रोजाईमा रहिरहनु भयो ।

गंभिरता उहाँको जन्मजात स्वभाव रहेको जस्तो लाग्थ्यो । उहाँको मुक्तकण्ठको लामो हाँसो विरलै देख्न पाएँ । कहिलेकाही रोमान्चकारी माहोलमा उहाँसंग गंभिरताको रहस्य खोतल्ने प्रयास गरेको पनि थिए । विवाह पश्चात केहि खुलेको स्वभाव पाएको थिएँ तर २०७४ को स्थानीय निर्वाचन ताका जिवन संगिनी श्रीमती रिना खड्काको दुर्घटनामा परी मृत्यु भयो । त्यसपछि कुनै पनि समय उहाँमा रहेको गंभिरताको स्वभावको वारेमा कहिल्यै प्रसंग उठाउने प्रयास गरिन । पछिल्लो समय २ नम्वर वजारबाट मिलनचोक बसाई सर्नुभयो । आआफ्नो कार्यगत व्यस्तताले भेटघाट कमै हुनथाल्यो । तर पुरानो भेटघाटले यती वुझे की उहाँ जती बाहिरी रुपमा गंभिर र कडा स्वभावको देखिनुहुन्थ्यो उहाँभीत्र त्यतिनै कोमलता र भावुकता थियो । एक वसाईमा उहाँले भन्नुभयो ‘वरुण पढाईमा म तिम्रो गुरु हुँ, संगितमा तिमी मेरो गुरु हौ ।’ पछि शौभाग्यले उहाँका दुई छोराहरुलाई पढाउने अबसर पनि मिल्यो। शारदा सरको कोठामा मैले अभ्यास गर्न क्लवको तवला लगेको थिएँ । उहाँले वेतालमै भएपनि तवला ठोक्दै गुन्गुनाउनु भयो ‘जिन्दगीमा कति माया लाईयो, कतिको माया पाइयो, कतिको धोका खाइयो ।’ पुलुक्क हेरेर मन्द मुस्कानमा भन्नुभयो ‘वरुण यो मैले रचेको गीतको अंश हो ।’ क्याम्पसको केहि औपचारिक कार्यक्रमहरुमा यो शव्दलाई गीत वनाई उहाँकै सहपाठी स्वरका धनी निर्मल खनाललाई गुन्गुनाउन लगाएको थिए ।

पछिल्लो समय एक्कासी शारदा सर विरामी भएको खबर पाएँ । खाना नलिको क्यान्सरको कारण उपचार गर्न काठमाण्डौ जानुभएको खबरले चसक्क पारेको थियो । केहि गुरुहरुसंग खवर लिदा सुधार भइरहेको भन्ने जवाफले केहि राहत दिन्थ्यो । क्याम्पस प्रमुखबाट राजिनामा दिनुभएको थियो । तर उहाँको आत्मवल र स्वास्थ्य अवस्था बुझेरै होला व्यवस्थापनले पुनरागमनको अपेक्षा सहित राजिनामा स्विकृत गरेको थिएन । लामो समयको विश्रामको आवश्यकताले होला या प्रशासनिक समस्याले हो क्याम्पस प्रमुखको जिम्मेवारीबाट विदा दिइयो । पटकपटक स्वास्थ अवस्था सुधारोन्मुख रहेको खवर पाएँ । दशै विदामा सिन्धुली आउनु भएको पनि हो । लाग्यो उहाँले रोगलाई जितिसक्नु भएको छ । जिन्दगी लामो छ, अव भेट भइरहने छ ।

अकस्मात माघ १६ मंगलबार खवर सुनेँ, शारदा सर वित्नु भयो । अनपेक्षित खबर विश्वास नै लागेन । सामाजिक संजाल खोलेर मन वहलाउने प्रयास गरे । फेसबुकको भित्ता जती स्क्रोल गरेपनि उहाँको फोटो सहित श्रद्धान्जलीको पोष्ट मात्र देखेँ । राती उहाँका पढ्दा र पढाउदाका सहयात्री निर्मल सर अनलाईन देखेँ । कल गरेर प्रश्न गरेँ ‘कसरी यस्तो भयो सर ?’ भन्नुभयो ‘उपचार राम्रै चल्दै थियो । आयुर्वेदको उपचार अनुसार भारतबाट औषधी पनि ल्याउनु भएको थियो । उहाँ अक्सर आफ्नो समस्या खासै अरुलाई भन्न नरुचाउने स्वभावको मान्छे । तीनचार दिन कब्जियत भएको रहेछ । दुईदिन उल्टि गर्नुभयो ।’ चिकित्सकले भिडियो एक्सरे गरेर हेर्दा कव्जियतका कारण पेट अत्याधिक दुषित भएको रहेछ । निर्मल सर भन्नुहुन्छ ‘हामीले कव्जियत हटाउने दवाइ दियौ । खुल्यो पनि तर भित्री रुपमा इन्फेक्सन वढीसकेको रहेछ । हामी फर्कियौ । हिजो सुने उहाँ रहनु भएन ।’ मलिन स्वरमा निर्मल सर भन्दै जानुभयो, ‘बरुण, दशैमा भेट हुँदा उहाँ कति तन्दुरुस्त हुनुहुन्थ्यो । आफै मोटरसाइकल चलाएर हिड्न थाल्नुभएको भयो ।’ शारदा सर यति आत्मवल भएको मान्छे हो । उहाँ भन्नुहुन्थ्यो रे, ‘म क्यान्सरले मर्दै मर्दिन ।’ तर सवैको मन जित्ने शारदा सर, सवै समस्या र व्यवधानलाई सहज पार लगाउन सक्ने शारदा सर अन्ततः कालसँग हार्नु भयो । २०२८  चैत्र १ गते सर्हाली जिल्लाको तत्कालिन जब्दी गाबिस हरिभवनमा जन्मिनु भएका शारदा मणि खड्काले २०८० माघ  १६ गते काठमाण्डौमा देहत्याग गर्नुभयो।

जन्मपछिको मृत्यु अनिवार्य र नियमित प्रकृया हो । स्विकार्नुपर्ने हुन्छ । यो खबरलाई पनि स्विकारे । म फ्ल्यासब्वाकमा पुगेँ । विगतका हरेक घटनाक्रमले चिमोट्न थाल्यो । लामो स्वास तानेँ । स्वासकै स्वरमा सुस्तरी हावासँग वात मारेँ, ‘जिवन भन्नु मृत्युको पर्खाइ रहेछ । जिवनको अन्तमा भेट हुन पाएन । क्षमा गर्नुस् । अल विदा शारदा सर…….।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *