तरंग खवर
सिन्धुलीमाढी, असोज २ मंगलवार । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तर्फबाट सिन्धुलीका विद्यालय तथा शिक्षकहरुलाई सम्मानित गरिएको छ ।
सम्मानित तथा पुरस्कृत हुने विद्यालयहरुमा सिन्धुलीको दुधौली नगरपालिका ११ मैनी स्थित श्री कमला माध्यामिक विद्यालय र कमलामाई नगरपालिका ४ ढुँग्रेवास स्थित श्री कमला माध्यामिक विद्यालय रहेको छ । मैनी स्थित श्री कमला माध्यामिक विद्यालयले देश भरको सामुदायिक माध्यामिक विद्यालयहरुको २०७९ सालको नतिजा मध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले प्रथम पुरस्कार स्वरुप शिल्ड, प्रमाणपत्रका साथ नगद २ लाख रुपैया प्राप्त गरेको छ । यसै गरी २०७९ सालको माध्यामिक विद्यालय तर्फको देशभरको नतिजामा सिन्धुलीकै श्री कमला माध्यामिक विद्यालय ढुँग्रेवासले उत्कृष्ट दोश्रो स्थान प्राप्त गरी नगद रु २ लाख सहित शिल्ड, प्रमाणपत्रका साथै ध्वजा पनि प्राप्त गरेका छ ।
राजधानीमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्रथम पुरस्कार ग्रहण गर्नका लागि दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी र दितीय पुरस्कार ग्रहणका लागि कमलामाई नगरपालिकाका नगरप्रमुख समेत रहनु भएका विद्यालय व्यवस्थाप समितिका अध्यक्ष उपेन्द्र पोखरेल उपस्थित हुनुहुन्थ्यो । नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्रि पूर्णबहादुर खड्काले पुरस्कार वितरण गर्नुभएको थियो ।
यसैगरी राष्ट्रिय शिक्षा दिवसको अवसरमा सिन्धुलीका शिक्षक डा. हरिप्रसाद पोखरेल पनि विद्याभुषण क पदकबाट सम्मानित हुनु भएको छ । बागमति प्रदेशका उत्कृृष्ट शिक्षक मध्ये सिन्धुलीबाट घ्याङ्लेख गाउँपालिका स्थित श्री मावि हायुटारका प्रधान अध्यापक विजय कुमार थिङ्ग पनि पुरस्कृत हुनु भएको छ भने सिन्धुलीकै गोलन्जोर गाउँपालिका स्थित श्री कामदा माध्यामिक विद्यालय डुडभन्ज्याङ्का वाल विकास सहजकर्ता दुर्गा अधिकारीले पनि पुरस्कार प्राप्त गर्नुभएको छ ।